Section 24
विकास करको निर्धारण
(१) दफा ५ बमोजिम जग्गा प्राप्त गर्दा जुन क्षेत्र वा ईलाकामा त्यस्तो जग्गा जे जति मोल कायम भई मुआब्जा दिइएको हो, त्यस्तो क्षेत्र वा इलाकामा सोही मोलको देहाय बमोजिमको प्रतिशतले हुने रकम विकास कर स्वरूप असुल उपर गरिनेछ ः–
(क) खण्ड “क” को जग्गामा २० प्रतिशत,
(ख) खण्ड “ख” को जग्गामा १० प्रतिशत ।
उदाहरण ः– कुनै एक क्षेत्रमा जग्गा प्राप्त गर्दा एक रोपनी जग्गाको मोल रु. ५०००।– कायम भै मुआब्जा वितरण भएको रहेछ र त्यस्तो क्षेत्रमा विकास कर तिर्नुपर्ने कुनै व्यक्तिको जम्मा डेढ रोपनी जग्गा मध्ये आधा रोपनी जग्गा खण्ड “क” मा र एक रोपनी जग्गा खण्ड “ख” मा परेको रहेछ भने निजले यस दफा बमोजिम तिर्नुपर्ने विकास करको रकम यस बमोजिम हुनेछ ः–
खण्ड “क” मा परेको आधा रोपनी जग्गाको २० प्रतिशतले रु.५००।–
खण्ड “ख” मा परेको एक रोपनी जग्गाको १० प्रतिशतले रु. ५००।–
जम्मा रु.१०००।–
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले कुनै जग्गाको अधिस्थापनलाई ध्यानमा राख्दा वा अरू कुनै कारणबाट त्यस्तो जग्गामा लाग्ने विकास करको दरलाई घटाउन वा विकास कर नलाग्ने गरी छूट दिन आवश्यक ठहराएमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी त्यस्तो विकास करको दर घटाउन वा छूट दिन सक्नेछ । त्यसरी विकास करको दर घटाउन वा छूट दिने सम्बन्धमा नेपाल सरकारले मुआब्जा निर्धारण समितिको सिफारिशलाई समेत ध्यान दिनेछ ।